ads

Feb 17, 2016

जिका भाइरसको बारेमा केही जानकारी

‘विश्व स्वास्थ्य सङ्घ’ले जिका भाइरसलाई विश्व स्वास्थ्य आपतकालको रूपमा घोषणा गरिसकेको छ। यस भाइरसको प्रकोपले ब्राजिल सहित विश्वका कैयौँ भू-भागमा तहल्का मच्चाइसकेको छ भने कतिपय भागमा त्रासको वातावरण सिर्जना भएको छ। अहिलेसम्म यो भाइरस विरुद्ध कुनै पनि खोप अथवा ड्रग बनिसकेको छैन।

‘जिका’ भाइरसको बारेमा केहि रहस्य अझै खुल्न सकेको छैन। यति मात्रै थाहा छ कि यो भाइरस डेङ्ग्यू र मलेरिया सार्ने लामखुट्टेको टोकाईबाट सर्दछ। रहस्य उजागर नभएकाले नै यसको प्रकोपको निकै डर मानिदैछ।
अधिकांशलाई अझैपनि जिका भाइरसको बारेमा जानकारी नभएको हुन सक्छ। साथै निम्न प्रश्नहरूको उत्तर पनि अधिकांशलाई थाहा नहुन सक्छः
१. यो भाइरस कत्तिको भयानक छ?
यो पूर्णरूपमा नयाँ भाइरस हो र यसको सङ्क्रमणबाट विभिन्न प्रकारका लक्षणहरू देखा पर्न सक्दछन्। अधिकांश सङ्क्रमित व्यक्तिहरूमा हलुका ज्वरो आउने गर्दछ भने कसैमा कुनै पनि लक्षण देखा नपर्न समेत सक्दछ।
२. जिका भाइरसको बारेमा अझसम्म के कुरा पत्ता लागेको छ?
हाल ‘विश्व स्वास्थ्य सङ्घ’ले जिका भाइरसको बारेमा अनुसन्धान गरिरहेको छ भने यसको प्रकोप फैलिन नदिन पनि निरिक्षण गरिरहेको छ। करीब ६० वर्ष अगाडि यस भाइरसलाई मानव समुदायबाट अलग्याइएको थियो तर अहिले अफ्रिका र एसिया लगायतका महाद्वेशहरूमा फैलिसकेको छ।

यो भाइरसलाई फैलाउन मद्दत गर्ने ‘एडिज एजिप्टी’ प्रजातीका लामखुट्टे विश्वका अधिकांश भागमा फेला पारिएको छ, जसले गर्दा विश्वभरी नै फैलिन सक्ने सम्भावना बढेको हो।
यस भाइरसको सङ्क्रमणले गर्दा ब्राजिलमा गर्भवती महिलाबाट ‘माइक्रोसेफली’ नामक रोगबाट ग्रसित शिशु जन्मिएको पनि फेला पारिएको छ। यो अवस्थालाई बुझ्नको लागि वैज्ञानिकहरू अनुसन्धानमा लागिरहेका छन्।
३. जनसमुदायले के कुरा जान्नुपर्छ?
जिका भाइरसको सङ्क्रमण रोक्नको लागि अझसम्म कुनै पनि खोप अथवा औषधी बनेको छैन, तर भाइरस फैलाउने लामखुट्टेबाट बच्नको लागि विश्व स्वास्थ्य सङ्घले केहि नियमहरू निर्धारण गरेको छः
  • प्रशस्त लामखुट्टे भएको ठाउँमा सकभर बाहिर ननिस्कने
  • राति सुत्दा झ्याल-ढोका राम्रोसँग लगाउने, झ्यालमा जाली राख्ने
  • लामखुट्टेले प्रजनन गर्ने खालको ताल अथवा स्थिर पानीको मुहान सफा गर्ने
  • घर बाहिर हिँड्दा वा भित्रै बस्दा पनि लामोबाहुला भएको लुगा लगाउने
  • लामखुट्टे छिर्न नसक्ने झूल प्रयोग गर्ने अथवा लामखुट्टे धपाउने धूपको प्रयोग गर्ने
४. यो भाइरसको सबैभन्दा खतरनाक पक्ष के हो?
सबैभन्दा अचम्मलाग्दो साथसाथै खतरनाक पक्ष भनेको यो भाइरसको फैलिने दर। छोटो समयमै जिका भाइरस अफ्रिका र एसियाबाट अमेरिका र यूरोप तर्फ लम्किँदै छ।
५. सङ्क्रमित भएको कसरी थाहा पाउने?
जिकाबाट सङ्क्रमित कतिपय व्यक्तिहरूमा साधारण ज्वरो आउने, छालामा दाद जस्तो आउने, चिलाउने अनि रातो हुने, जोर्नी दुख्ने र आँखा रातो हुँदै जाने जस्ता लक्षणहरू देखा पर्दछ भने कसै-कसैमा कुनै पनि लक्षण नदेखिने हुन सक्छ।
६. महिलाहरूमा यो भाइरसले कसरी प्रभाव पार्दछ?
यौन सम्पर्कबाट जिका भाइरस सर्न सक्ने सम्भावना देखिएको छ। त्यसैले ‘युनाइटेड स्टेट्स सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन’ (United States Centers for Disease Control and Prevention- CDC) ले जिका भाइरस फैलिएको क्षेत्रमा बसोबास गर्ने र यात्रा गर्न गएका व्यक्तिहरूले यौन सम्पर्कमा संलग्न नहुन र यदि संलग्न भएमा अनिवार्यरूपमा कण्डमको प्रयोग गर्न सुझाव दिएको छ।

कुशल श्रेष्ठ

No comments:

Post a Comment

Facebook Insta down right now फेसबुकमा समस्या

  Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...