ads

Feb 20, 2016

बोधिचित्तको एउटै रूखबाट लाखौँ कमाइ

बोधिचित्तको एउटै रूखबाट लाखौँ कमाइ

एउटै बोधिचित्तको रूखबाट चापाखोरी–३ का खुसराज तामाङले यो वर्ष १० लाख रुपैयाँ आम्दानी गरे । अघिल्ला दुई वर्षमा उनले यही रूखबाट २० लाखभन्दा बढी कमाइसकेका छन् । चापाखोरीकै असलबहादुर तामाङले यसै वर्ष पाँचवटा रूखबाट ३० लाख रुपैयाँ कमाए । आगामी वर्षका लागिसमेत ठेकेदारले उनका पाँचवटै बोट किनिसकेका छन् । यहाँ चार वर्षसम्मका लागि अहिल्यै रूख ठेक्का लिनेसम्मको कारोबार हुन्छ । स्थानीय ठेकेदार राकेश लामाले रूखमा फल नलाग्दै वार्षिक ३० लाख रुपैयाँमा ठेक्का लिएको उनले बताए । बारीमै दशौँ लाख रुपैयाँमा बिक्री हुने रूखको मूल्य फल टिपेर मुख्य ठेकेदारदेखि माला प्रयोगकर्ताको हातसम्म निकै महँगो पर्न जान्छ । असलबहादुरको हातमा परेजस्ता लाखका बिटा धेरैका हातमा पर्छन् । स्थानीय वीरबहादुरले ३० लाख रुपैयाँमा रूख बेचे भन्दा पत्याउनै गाह्रो लाग्छ । सिंखानी–२ ढोकर्पाका तीर्थ मोक्तानले एउटै रूख १५ लाखमा बिक्री गरे । उनले बोधिचित्तको फल बेचेरै भक्तपुरमा घर–घडेरी जोडेको बताए ।
केही वर्षअघिसम्म झाडी भएको भन्दै काटेर त्यसै फालिने बोधिचित्तका रूख अहिले लाख कमाउने माध्यम बनेका छन् । स्थानीयले बारीभरि नयाँ बिरुवा रोप्न थालेका छन् । सिसाखानी–१ का कनक लामाले ढोकर्पामा ८५ वटा रूख लगाएका छन् । सबै रूखले फल दिन थालिसकेका छन् । अहिलेकै मूल्य आएमा कनकले केही वर्षमै वार्षिक करोडौँ रुपैयाँ कमाउने पक्का छ ।
फल लाग्न थालेपछि रूख कुर्न अहोरात्र खटिने गर्छन्, स्थानीय । रूखवरिपरि तार–जाली लगाउने गर्छन् । फल लागेदेखि नटिपेसम्म ठेकेदारले बोटैपिच्छे युवा तैनाथ गरेका हुन्छन्, लाखौँ रुपैयाँ खर्चेर । काठमाडौंका मोस्ट वान्टेड युवाहरू रोसी क्षेत्रमा पुगेर बोधिचित्तमा आँखा गाड्ने गरेको स्थानीय बताउँछन् । त्यसैले, भैपरी आउँदा रोसीकिनार र भकुन्डेबेँसीमा युवादस्ता तयारी अवस्थामा राखेका हुन्छन्, ठेकेदारले । खुसराजसँग बोधिचित्त ठेक्का हान्ने ठेकेदार पञ्च तामाङले रूखको फेदमै केही युवा खटाएका छन् । खुसराजको रूखको बोधिचित्त किन्ने स्थानीय ठेकेदार तामाङले रूखको फेदमै केही युवाहरूलाई कुर्न राखेका छन् ।
बाहिरबाट गएका ठेकेदारले स्थानीयलाई धम्क्याउँदै फल झारिदिने गरेको गुनासो बढेको छ । वार्षिक नौ लाख रुपैयाँमा बेचेको बोधिचित्त सबै झारिदिए भनेर गोठपानी–५ का पासाङ दोर्जे लामाले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिएका छन् । बेथान–६ का ठेकेदार सफल दोङले पासाङसँग वार्षिक नौ लाख दिने गरी ०७५ सम्मका लागि सम्झौता गरेका थिए । फल टिपेर ल्याउँदा बाटोमा गुन्डा तथा प्रशासनको धरपक्कडका कारण गत वर्ष सिसाखानीको साजकोटमा हेलिकोप्टर लगेरै राजधानी लगिएको थियो । ठूलो गुन्डागर्दीको सामना गर्नुपर्ने भएकाले मुख्य ठेकेदारहरूले पनि स्थानीय ठेकेदारमार्फत खरिद गर्ने गरेका छन् ।
केही वर्षदेखि बोधिचित्तको मूल्य आकासिएको छ । बौद्ध धर्मावलम्बीहरूले मालाका लागि प्रयोग गर्ने बोधिचित्त प्राय: तिब्बत निकासी हुने गरेको बताइन्छ । काभ्रेको तिमाल क्षेत्रमा पाइने बोधिचित्त सबैभन्दा उत्तम मानिन्छ । बिरुवा लगाएको तीन वर्षदेखि फल्न थाल्ने बोधिचित्तको एउटा रूखको पाँच लाखदेखि ५० लाखसम्ममा बिक्री हुन्छ । मंगलटार–२ थाक्लेका कान्छाकाजी तामाङले बोधिचित्तको बिरुवा बेचेरै ६ लाख रुपैयाँ कमाएका छन् । दुई लाख रुपैयाँ लगानीमा दाना खरिद गरी बिरुवा उत्पादन गरेका उनले यसैबाट परिवार पालेका छन् । वनस्पतिविद् डा. केआर भट्टराई सम्मिलित समूहले लामो समय अनुसन्धान गरेर ‘जिजिफस बुद्धान्सिस’ नाम दिइएको यस वनस्पतिको फलको माला अहिले तन्नेरीहरूले फेसनका रूपमा समेत प्रयोग गर्ने गरेका छन् । पछिल्ला वर्षहरूमा तिब्बतसँगै चीन, भारत, सिंगापुर, जापान र कोरियामा समेत बोधिचित्तको माग बढ्दो छ ।
स्थानीयका अनुसार सबैभन्दा सानो दानाबाट बनाइएको माला अत्यधिक महँगो हुन्छ । कति मुखे भन्नेले पनि मूल्यमा अन्तर पार्छ । तीनदेखि सातमुखेसम्मको मूल्य प्रतिगोटा चार सयदेखि चार लाखसम्म पर्छ । ७ मिलिमिटर ब्यास भएको एक सय आठ दानाको मालाको चार लाख रुपैयाँभन्दा बढी पर्छ । ठूलो आकारका माला भने पाथीमा बेचिन्छ, एक पाथीको २५ हजार रुपैयाँसम्म पर्छ । वन कार्यालयले भने बयर प्रजातिको भन्दै प्रतिकिलो आठ रुपैयाँ मूल्यांकन गरी १३ प्रतिशत राजस्व संकलन गर्दै आएको छ । बोधिचित्तबारे अनेक मिथक पनि छन् । दोस्रो बुद्ध मानिने गुरु पद्मसम्भवले आठौँ शताब्दीमा आशीर्वादस्वरूप काभ्रेको तिमाल क्षेत्रका बासिन्दालाई दिएको जनविश्वास छ । वन मन्त्रालयले पनि नेपालमा काभ्रेको तिमाल क्षेत्रमा मात्रै पाइने बताएको छ ।
बयर र हाडेबेडुजस्तो देखिने बोधिचित्तको रूखमा काँडा हुन्छ । वैशाखदेखि फल लाग्न सुरु गर्छ । असारको अन्तिमदेखि साउनको अन्तिमसम्म फल टिप्नका लागि तयार हुन्छ । ढिकीमा फलेर तथा उसिनेर दानाबाट माला तयार पार्छन् । बोक्रा निकालेको दानालाई केही दिन घाममा सुकाएपछि छेडेर एक सय नौ दानाको माला तयार पारिन्छ ।
बोधिचित्त बुद्धिस्टहरूको (विशेष गरी चिनियाँ समाजमा) धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने एक प्रकारको वनस्पति हो । काभ्रेको तिमालमा कैयौँ वर्षदेखि यो वनस्पति रहे पनि यसको महत्त्व खासै थाहा थिएन । अहिले यसबारे थाहा भएपछि र माग उच्च भएपछि महँगो मूल्यमा बजार पाएको छ । गमलामा समेत रोप्न सकिने भएकाले यसको बिरुवाको बिक्री पनि अहिले अत्यधिक छ । समशितोष्ण भूभाग (४००–२००० मिटर उचाइ) मा यसको उत्पादन हुन्छ । रोप्नका लागि माघ–फागुन उत्तम मानिन्छ । असार–साउनमा रोप्दा पनि ठिकै हुन्छ । बिरुवा पाँच मिटरको दूरी–अन्तरमा रोप्नुपर्छ ।

No comments:

Post a Comment

Facebook Insta down right now फेसबुकमा समस्या

  Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...