फागुन ५ । नेपाल प्रहरीमा कार्यरत त्यसमाथि पनि महिला प्रहरी नै चेलीबेटी बेचबिखनमा संलग्न रहेको भन्ने शब्द झट्ट सुन्दा जो कोहीलाई पनि विश्वास गर्न गाह्रो हुन्छ । तर पछिल्लो समय रुपन्देहीमा घटेको एउटा घटनाले उक्त विषयलाई सहजै नकार्न नसकिने अवस्था सिर्जना भएको छ ।
घटना हो गत असोज २५ गते सोमबार अपराह्न अन्दाजी १२ः३० को र घटनास्थल हो रुपन्देहीको सीमानाका बेलहिया । नेपालबाट रुपन्देहीको बेलहिया सुनौली नाकाबाट भारत हुँदै खाडी तथा अफ्रिकी मुलुकमा नेपाली चेलीबेटीको सम्भावित बेचबिखन तथा ओसारपसारलाई नियन्त्रण गर्ने, पीडितको उद्धार गर्ने र दोषीहरुलाई कानुनी कारबाहीको लागि पहल गर्ने उद्देश्यअनुरुप माइती नेपालको तर्फबाट नाकामा चेकजाँचको लागि खटिएका माइती नेपाल भैरहवाका कर्मचारीद्वय ज्ञानु गौतम र सुस्मिता राईले असोज २५ गते सोमबार अपराह्न करिब १२ः३० को समयमा शंकास्पद दुई युवतीहरु (परिवर्तित नाम भैरहवा ११ र भैरहवा १२) नेपालतर्फबाट भारतको सुनौलीतर्फ जान लागेको देखे । देख्नासाथ राई र गौतमले दुवै युवतीहरुलाई भारततर्फ जानबाट रोकेर कहाँ जान लागेको भनेर सोधपुछ गर्दा दुवै युवती अक्मकाएपछि एक्लाएक्लै राखेर सोधपुछ गर्न थाले । माइती नेपालको टोलीले दुवै युवतीलाई सोधपुछ गर्दै गर्दा रुपन्देही सेमलार–८ घर भई सैनामैना बस्ने मायादेवी (धवल) धोबी नाम गरेकी एक अधबैंसे महिलाले उक्त स्थानमा पुगेर ‘यी बहिनीहरु भारतको सुनौली बजारमा सपिंग गरेर फर्किने हो’ भन्दै उनीहरुलाई छाडिदिन अनुरोध गरिन् । मायादेवीले जति अनुनय विनय गरे पनि माइती नेपाल र नेपाल प्रहरीको संयुक्त टोली उनको कुरामा विश्वस्त हुन सकेन । त्यसपछि संयुक्त टोलीले उनै मायादेवीको नियतमाथि नै शंका गर्दै उनीमाथि अनुसन्धान सुरु ग¥यो । प्रारम्भिक सोधपुछको क्रममा दुई युवतीले आफूहरु वैदेशिक रोजगारीको लागि कुवेत जान थालेको र मायादेवी आफूहरुलाई नाका पार गराउन आएको बताएपछि माइती नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले मायादेवीलाई नियन्त्रणमा लियो । प्रहरी नियन्त्रणमा परेपछि अत्तालिएकी मायादेवीले नेपाल प्रहरीअन्तर्गत पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलमा कार्यरत प्रहरी सहायक निरीक्षक निर्मला श्रेष्ठको नाम पोलिन् । मायादेवीले प्रारम्भिक बयानमा ‘यी बहिनीहरुलाई भारतको सुनौली बजारमा सपिंग गर्न भनी निर्मला दिदीले पठाउनुभएको हो, निर्मला बुटवल तालिम केन्द्रमा असई छिन्’ भन्दै नाम पोलेपछि माइती नेपालको टोली चकित परेको थियो ।
चेलीबेटी बेचबिखनमा जुनियर अधिकृत तहको महिला प्रहरीको संलग्नता देखिएपछि माइती नेपाल भैरहवास्थित कार्यालयले घटनास्थल मुचुल्का कागजसहित मायादेवीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको जिम्मा लगाउँदै बेच्न लैजाँदै गरिएका ती दुई युवतीको सोही दिन जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पीडित युवतीको जाहेरी लिन खोज्दा ती दुवै युवती काठमाडौंबाट आएको र बारदातस्थल समेत काठमाडौं जिल्लामै रहेको खुल्न आएपछि पीडितको जाहेरी र घटनास्थल मुचुल्का विवरणसहित पक्राउ परेकी मायादेवीलाई महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पठाइदियो । काठमाडौं आइसकेपछि महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले पक्राउ परेकी मायादेवीलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर मायादेवीको बयानबाट तानिएकी असई निर्मला श्रेष्ठलाई उपस्थित गराइदिन उनी कार्यरत रहेको पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रलाई पत्र काट्यो । बयानमा मायादेवीले आफ्नो नाम पोलेको खबर प्रहरी स्रोतबाटै थाहा पाइसकेकी असई श्रेष्ठ काठमाडौं प्रहरीले उनलाई उपस्थित गराइदिन गरेको अनुरोधसहितको पत्र बुटवल तालिम केन्द्रमा नपुग्दै उनी फरार भइसकेकी थिइन् ।
उनी फरार भएता पनि काठमाडौं प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत श्रेष्ठलाई समेत फरार प्रतिवादी बनाउँदै मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दुवै प्रतिवादीको हकमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को दफा ३ र दफा ४ (२) (क) को कसुर देखिएको उल्लेख गर्दै सोही ऐनको दफा (१५) (१) को खण्ड ( ड ) (१) बमोजिम र असई निर्मला श्रेष्ठ नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा बहाल रहेकोमा सोही ऐनको दफा १५ (३) बमोजिम थप सजाय मागदाबी गर्दै गत कात्तिक २० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ । उक्त मुद्दामा थुनछेकमा भएको आदेशबमोजिम पक्राउ परेकी मायादेवी (धवल) धोबी मुद्दा पुर्पक्षको लागि केन्द्रीय कारागारस्थित महिला बन्दीगृह चलान भइसकेको र असई श्रेष्ठलाई निलम्बन गरी काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको काठमाडौं प्रहरी परिसर स्रोतको दाबी छ ।
असई श्रेष्ठको दरबन्दी जहाँ भए पनि उनी शक्तिकेन्द्रको दबाबमा करिब एक दशक अगाडिदेखि इलाका प्रहरी कार्यालय बुटवलमा मस्ती गर्दै आएकी थिइन् । इलाका प्रहरी कार्यालय बुटवलमा महिला सेलको प्रमुख भएकी उनले विभिन्न महिलाहरुसँग मिलेर बुटवलका केही व्यापारीहरुसँग ‘ब्ल्याकमेल’ गर्दै तिनै महिलालाई प्रयोग गरेर रकम असुल्ने गरेको स्रोत बताउँछ । नेपाल प्रहरीका पूर्वडीआईजी अशोक श्रेष्ठकी भाइबुहारी समेत रहेकी उनले जेठाजुको समेत नाम बेच्दै वर्षौंदेखि चेलीबेटी बेचबिखनको धन्दा सञ्चालन गर्ने गरेको स्रोतको दाबी छ । करिब दुई वर्षअगाडि इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी सहायक निरीक्षक रामप्रसाद पौडेललाई डेढ लाख रुपैयाँ घुससहित अख्तियारले रंगेहात पक्राउ गरेको घटनामा उनीसमेत मुछिएकी थिइन् । उक्त घटनामा आयोगले उनीसँगै तत्कालीन प्रहरी निरीक्षक सोम थापाको समेत बयान लिएको थियो । अख्तियारमा उनीविरुद्ध अन्य थुप्रै मुद्दाहरु विचाराधीन रहेको अख्तियार स्रोतको दाबी छ ।
के छ मायादेवीको बयानमा ?
मेरो विवाह भई २ छोराको जन्म भइसकेको अवस्थामा श्रीमान्ले अर्को श्रीमती ल्याई मलाई छाडेको हुँदा न्यायको लागि उजुरी गर्न इलाका प्रहरी कार्यालय बुुटवलमा जाँदा उक्त कार्यालयमा कार्यरत निर्मला श्रेष्ठसँग भेटघाट र चिनजान भएको थियो । पछि मलाई समस्या पर्दा निर्मला श्रेष्ठसँग बताउँथे र काम गर्दै आएको थिएँ । म खेतीपातीको कामको अलावा गाउँघरमा झारफुक गर्ने काम गर्दछुु । निज निर्मला श्रेष्ठले पनि मसँग झारफुुक गराउँथिन् । मिति २०७२ असोज २५ गते म बिहान खोलामा नुहाउन लागेको अवस्थामा निर्मला श्रेष्ठले मेरो मोबाइलमा फोन गरी २ जना केटीहरुको हेराइकोराइ गर्न भनिन् । मैले म आउँदै छुु त्यही हेरौंला भनेँ, पुरानो बसपार्कमा पुुगेँ, निर्मला श्रेष्ठसँग भेट भई निर्मला स्कुुटरमा र म हिँडेर नेपालगञ्ज रोडमा रहेको नाम थाहा नभएको होटलमा गयौँ । सो होटलमा भएको एक जना पातलो शरीर भएको लम्बुु मानिसले निर्मलालाई ‘भाउजू नमस्कार’ भनेर लम्बु केटा र निर्मलाले कुराकानी गरे, के कुराकानी गरे थाहा भएन । मेरो साथी भनी यसअघि नै निर्मलाले मेरो घरमा ल्याएको मैले पनि सामान्य चिनेको भारतीय लाहुरे भन्ने झपेन्द्रलाई लम्बुु केटाले फोन ग¥यो । झपेन्द्र हो भनेकोले मैले पनि फोनमा सञ्चो बिसञ्चो सोधेको हुँ । त्यसपछि निर्मला श्रेष्ठको ब्यागमा लम्बु केटाले पैसा राखिदिए । कति राखिदिए मलाई थाहा भएन । सोही होटलमा तीन जनाले खाना खायौं । लम्बुु केटाले सात सय रुपैयाँ ति¥यो । मलाई निर्मलाले ट्वाइलेट अगाडि पाँच सय दरका २० थान नोटहरु १० हजार रुपैयाँ मलाई दिइन् । किन दिएको भन्दा राखन थरुनी भनिदिनुुभयो । मैले राखेँ, त्यहाँबाट तीन जना नै रोडमा निस्क्यौँ । निर्मला श्रेष्ठले दाइसँग जाऊ, त्यहाँ दुुई जना बहिनीहरु छन्, तिनीहरु दिल्ली जाने हुन्, सुुनौलीसम्म साथी गइदेऊ भनेपछि तपाईं र म स्कुुटीमा जाऔँ, उनीहरु गाडीमा जान्छन् नि भन्दा मेरो स्कुटीमा तेल छैन, म विद्युत् अफिस जानु छ भनी लम्बुु केटा र निर्मला २ जनाले कुरा गरे, के कुरा गरे मलाई थाहा भएन । म अगाडि गइरहेँ, एकछिनमा लम्बुु केटाले मलाई भेटायो र सँगै गयौँ । जाँदा जाँदै केटा कता हरायो थाहा भएन । त्यही मौकामा म मोबाइल पसलमा गई मोबाइलमा प्लाष्टिक राख्न लाग्दा फेरि केटा आइपुुग्यो र ल जाऊँ भनी नजिकैको नाम थाहा नभएको होटलमा लग्यो । २ जना केटीहरु खाना खाँदै रहेछन्, चिसो मगायो र मैले र लम्बुु केटाले चिसो खायौँ । म तल झरें । २ जना केटी र लम्बुु पछिपछि आए । केटीहरु बसपार्कतर्फ गए । केटाले फर्काएर ल्यायो । त्यतिबेला म मोबाइल पसलमा नै थिए । मलाई बोलायो, म नजिकै गएँ । भैरहवा जाने गाडी आयो ल जाऊ भनेकाले म अगाडि चढेँ । त्यसपछि २ जना केटी चढे, लम्बुु केटो पनि चढ्यो होला भन्ने सोचेको थिएँ । गाडी भाडा दिने बेलामा हेर्दा लम्बु केटा रहेनछ । मैले गाडी भाडा ६० रुपैयाँ दिए । भैरहवा पुगी गाडीबाट झ¥यौँ । लम्बुु केटा फेला परेन । हामीभन्दा अगाडिको गाडीमा सुनौली गयो कि भन्ने सोचेर हामी तीन जना नै सुनौलीको गाडी चढेर बेलहिया झ¥यौँ । मैले लम्बुु केटालाई खोजी गर्न थालें ।
२ जना केटीहरु सरासर सुनौलीतर्फ गइरहेकोमा माइती नेपालका कर्मचारीहरुले सोधपुुछ गरिरहेका रहेछन् । निजहरुले मलाई देखी यहाँ दिदीहरुले हामीलाई ल्याएको हो भनी देखाएपछि माइती नेपालका कर्मचारीहरुले कहाँ लैजान लागेको भनी सोधनी गर्न थालेपछि मैले निर्मला श्रेष्ठलाई फोन गरेँ । हामीलाई त माइती नेपालले समातेको छ भन्दा हामी किनमेल गर्न आएको हो भन्न लगाइनँ, मैले भनेँ । फेरि फोन गरी २ जना केटीलाई बाटोमा नै भेटाएको हो, मैले चिन्दिनँ भन्न सिकाएकी थिइनँ । त्यसबेला थारु भाषामा कुरा गरिन् भनी मलाई फोन गर्न नदिई माइती नेपालका कर्मचारीहरुले फोन मागेका थिए, मैले दिइनँ । त्यतिखेर फेरि निर्मलाले फोन गरी माइती नेपालका कर्मचारीलाई फोन गरी देऊ त भनेपछि मैले माइती नेपालको पुलिस को छ, त्यसलाई फोन देऊ त भन्दा नजिकै रहेको प्रहरीलाई फोन दिएँ । फोनमा के कुरा भयो मलाई थाहा भएन । माइती नेपालले २ जना केटी र मलाई सोही दिन बेलहिया चौकीमा लगेर प्रहरीलाई बुुझाएका हुन् । चौकीबाट सोही दिन बेलुुका नै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ल्याई राखेको हो ।
No comments:
Post a Comment