ads

Mar 9, 2016

सबै चिकित्सकको प्रमाणपत्र छानबिन सुरु

- अतुल मिश्र, काठमाडौं

फाल्गुन २६, २०७२- नक्कली चिकित्सक भेटिने क्रम बढ्न थालेपछि नेपाल मेडिकल काउन्सिलले मुलुकभरका सबै डाक्टरको शैक्षिक प्रमाणपत्र छानबिन सुरु गरेको छ । काउन्सिलमा दर्ता रहेका करिब १७ हजार डाक्टरको प्रमाणपत्र छानबिन सुरु गरिएको हो ।
आगामी ६ महिनाभित्र सक्ने गरी यसै सातादेखि सबै डाक्टरको प्रमाणपत्र छानबिन काउन्सिलले थालेको हो । काउन्सिलले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, उच्च माध्यमिक शिक्षा परिषद् तथा परीक्षा नियन्त्रण कार्यालयसँग मिलेर यो अभियान सुरु गरेको हो ।
नक्कली डाक्टरको खोजी अभियानअन्तर्गत काउन्सिल, केन्द्रीय अनुसन्धान ब्युरो र उच्च माध्यमिक शिक्षा परिषद्द्वारा संयुक्त रूपमा सञ्चालन गरिएको ‘अपरेसन क्वाक’ लाई निरन्तरता दिँदै मुलुकभरका डाक्टरको प्रमाणपत्रलाई छानबिनको दायरामा ल्याइएको हो ।
‘काउन्सिलमा दर्ता रहेका सबै डाक्टरहरूको १० कक्षादेखि पास गरेको अन्तिम प्रमाणपत्रसम्मको जाँच गरिने छ,’ काउन्सिलका प्रवक्ता डा.कृष्ण अधिकारीले कान्तिपुरसँग भने, ‘जाँच प्रक्रिया सकिएपछि काउन्सिलमा दर्ता रहेका सबै डाक्टरको प्रमाणपत्र सही रहेको सन्देश गएपछि आम जनता ढुक्क हुने स्थिति आउने छ ।’
काउन्सिलमा हालसम्म दर्ता रहेका करिब १७ हजार डाक्टरको शैक्षिक प्रमाणपत्र छानबिन सकिएपछि नयाँ थपिने डाक्टरको प्रमाणपत्र पनि छानबिन गरिने डा.अधिकारीले बताए । काउन्सिलबाट लाइसेन्स पाएका डाक्टरको प्रमाणपत्र सही भएको ग्यारेन्टी गर्न सकिने स्थिति निर्माण गरिने उनको भनाइ छ ।
काउन्सिलका अनुसार एसएलसी र प्लस टुका प्रमाणपत्र अनलाइनबाटै जाँच्ने प्रबन्ध मिलाइएको छ भने विदेशबाट लिइएको प्रमाणपत्र विदेशी निकायसँगै समन्वय गरेर परीक्षण गर्ने प्रबन्ध मिलाउने प्रक्रिया सुरु गरिएको छ ।
स्रोतका अनुसार हाल मुलुकमा नक्कली प्रमाणपत्रधारी डाक्टरहरू १ हजारभन्दा बढी रहेको आकलन गरिएपछि काउन्सिललगायत निकायले खोजी अभियानको दायरा फराकिलो पारेका हुन् ।
हालै करिब २ सय डाक्टरको प्रमाणपत्र छानबिन गर्दा १५ को प्रमाणपत्र नक्कली पाइएको हो । ‘हालसम्म नक्कली प्रमाणपत्रअन्तर्गत पक्राउ परेका १५ डाक्टरको नाम मात्र सार्वजनिक गरिएको हो,’ डा.अधिकारीले भने, ‘हालको स्थितिलाई विश्लेषण गर्दा मुलुकमा नक्कली प्रमाणपत्रधारी डाक्टरको उपस्थिति भयावह रूपमा हुनुपर्छ ।’
केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता दिवेश लोहनीले नक्कली प्रमाणपत्रधारी डाक्टरहरू कारबाहीको दायरामा नआएकाले यो गलत प्रक्रिया मौलाएको बताए ।
‘नक्कली प्रमाणपत्रधारी चिकित्सक आजको समस्या होइन, २० औं वर्षदेखि नै यस्तो खालको प्रमाणपत्रमा पढेकाहरू हुन्छन्,’ उनले भने । हाल देखिएको नक्कली प्रमाणपत्रधारी डाक्टर ‘टिप अफ आइसवर्ग’ मात्र भएको उल्लेख गर्दै लोहनीले वास्तविकता योभन्दा पनि बढी भयावह हुन सक्ने बताए ।
हालसम्मको अनुसन्धानअनुसार मुलुकमा पढेकाहरूको दाँजोमा भारत वा विदेशबाट पढेर आउनेहरूको प्रमाणपत्र बढी मात्रामा नक्कली देखिएको छ । विगतमा पनि नक्कली शैक्षिक प्रमाणपत्रबारे छानबिन हुन्थ्यो । तर जोविरुद्ध उजुरी परेको छ, त्यसको मात्र छानबिन थाल्ने र एउटा ठाउँमा पुगेपछि छानबिन प्रक्रिया रोकिने गरिएको स्रोतको भनाइ छ ।
‘उजुरी परेकाको मात्र छानबिन गर्ने र एउटा ठाउँमा पुगेपछि रोकिनेवाला हामी छैनौं,’ काउन्सिल प्रवक्ता डा.अधिकारीले भने, ‘यसैले सीआईबीसहित तीनवटा सरकारी कार्यालयको संयुक्त टोलीले सधैंका लागि निरन्तर जाँच सुरु गरिएको हो ।’
प्रमाणपत्र छानबिनको दायरामा सेवा निवृत्त चिकित्सकहरूसमेत परेका छन् । ‘काउन्सिलमा दर्ता भएका बहालवाला, सेवा निवृत्त वा जुनसुकै चिकित्सक हाम्रो छानबिनको दायरामा छन्,’ डा.अधिकारीले भने, ‘दर्तावाला चिकित्सक जीवनभरि अभ्यास गर्ने भएकाले लाइसेन्स पाएका हुन् कि होइनन् भन्ने मात्र हाम्रो सरोकार हो ।’

  •  छानबिनको दायरामा सेवानिवृत्त डाक्टरहरूसमेत
  •  हजारभन्दा बढी नक्कली चिकित्सक रहेको आशंका
  • २ सयको प्रमाणपत्र छानबिन गर्दा १५ फर्जी फेला

No comments:

Post a Comment

Facebook Insta down right now फेसबुकमा समस्या

  Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...